Admin Login

बरेङ गाउँपालिका हुग्दिशिर, बागलुङ डिजिटल प्रोफाईल सिस्टम

  • ९८५७६३२३२८
  • barengrm@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
२. वडाको चिनारी
२.१ भौगोलिक स्थान

बरेङ गाउँपालिकाको पूर्वमा जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्ला, उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्ला पर्दछन्। भौगोलिक हिसाबले ८३ डिग्री २३ मिनेट ३१ सेकेण्ड देखि ८३ डिग्री ३३ मिनेट३४ सेकेण्ड पूर्वी देशान्तर र २८ डिग्री ६ मिनेट ४६ सेकेण्ड देखि २८ डिग्री १० मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांशमा अवस्थित बरेङ गाउँपालिका ७५.२८ वर्ग.कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । आधा भन्दा बढि क्षेत्र जंगल तथा केहि भू–भागमा जल क्षेत्र रहेको यस गाउँपालिका भएर सानाठूला गरी आधा दर्जन भन्दा बढी खोला तथा नदीहरु बग्ने गर्छन्। यो गाउँपालिका समुन्द्री सतह १०७१ देखि २७७३ मि. को उचाईमा अवस्थित छ ।

२.२ ऐतिहासिक पहिचान नामांकन

बरेङ गाउँपालिकामा रहेको बरेङ भन्ने स्थानमा नियमित रुपमा मेला लाग्ने गरेको छ । उक्त मेलामा ढाडे खेल (कुस्ती) खेल्ने गरेको पाइन्छ । बरेङ भन्ने स्थान अग्लो डाँडामा रहेकोले भऱ्याङ्ग जस्तो भौगोलिक धरातल पार गरेर भब्ज्याङ जानुपर्ने भएकोले “भरेङ्ग” नामबाट अपभ्रंस भई बरेङ भन्ने नाम रहन गएको भन्ने स्थानीय पाकाहरुको भनाई रहेको छ । त्यस्तै अर्को भनाई अनुसार यस गाउँपालिकामा एउटा ठूलो वरको रुख रहेको हुनाले उक्त स्थानलाई बरेङ भन्ने गरिएको भन्ने भनाई पनि रहेको छ ।

२.३ राजनीतिक स्थिति

नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननिय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा गा.वि.स. समावेश गरि बरेङ गाउँपालिका घोषणा गरीएको हो। यस गाउँपालिकामा हाल ५ वडा कायम गरिएको छ ।

२.४ धरातलीय अवस्था

यस गाउँपालिकामा ३३.८९ वर्ग कि.मि. जमिन खेतीपातीको लागि उपयोग भएको देखिन्छ । त्यस्तै ३९.३१ वर्ग कि.मि. जमिन वनजंगलले ओगटेको छ भने०.८२ वर्ग कि.मि. जलक्षेत्रले ओगटेको छ । गाउँपालिकाको केहि सिमित भू–भाग बेशी, केहि शिवालिक र मुख्यतया पहाडि क्षेत्र रहेको छ । बरेङ गाउँपालिकाको भूमिलाई भू–बनौट, प्रणाली, तथा भू–स्खलन जस्ता प्रवृतिका आधारमा अध्ययन गर्दा भूमिको बर्गीकरणलाई त्यसको उपयोगको सम्भाव्यता र सघनता घट्दै जाने (Degrading) क्रममा राखिएको छ । अर्को शब्दमा, भू–स्खलन वा भू–क्षयीकरणको प्रवृति भूबनोट अनुसार फरक पर्दै जान्छ ।

२.५ प्राकृतिक सम्पदा

प्राकृतिक ताल, तलैया, तथा नदीहरु र हरियाली, अत्यन्तै नजिकबाट अवलोकन गर्न सकिने हिमश्रृबखलाहरुको रमणीयतामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण हुने गर्दछ । भौगोलिक कालक्रमको इतिहासमा यहाँ बग्ने साना र ठूला खोला तथा नदीहरु पहाडी थुम्काहरु, भञ्ज्याब, चौतारी र पोखरीहरुको निर्माण हुन गएको छ ।

२.६ सांस्कृतिक उत्कृष्टता

बरेङ गाउँपालिका सँस्कृति र कलाका दृष्टिकोणलेधनी गाउँका रुपमा रहेको छ । गाउँपालिकामा विभिन्न किसिमका जातजाति, धर्म र भाषाभाषी बोल्ने परिवारहरुको बसोबास रहेको छ । यस गाउँका अधिकांश मानिसहरूले धर्मको रुपमा सनातन हिन्दु धर्मलाई स्वीकारेको देखिन्छ । यद्यपि मगर समुदायको भने आफ्नै भाषा, रहनसहन, भेषभूषा एवं परम्परा र संस्कार रहेको पाईन्छ मगरहरु यहाँका आदिवासी समुदायहरु हुन्। पहाडी समुदायहरूबाट वेदमूलक आर्य–संस्कृतिका विधि–विधान र धर्म शास्त्रहरु जस्तै रामायण, महाभारत, पूराण आदि ग्रन्थहरूको आधार मानी ती बिषयवस्तुहरूलाई लोकभाषा, लोकलय, लोकधुन, र लोकशैलीमा ढालेर लोकजीवनको सेरोफेरोसित तादात्म्य मिलाई आफ्नोपन झल्काउने गरी दोहोरी, लोकगीत आदिको रुपमा विभिन्न विशिष्ट अवसरहरूमा प्रस्तुत गरिन्छ । यो समुदायको विशेष पहिचान नै आफ्नो विशिष्ट भाषिक र सांस्कृतिक मौलिकपना नै हो। संचार माध्यमको व्यापक विकास र विस्तारका साथै पश्चिमा सँस्कृतिको प्रभावका साथै विद्यमान सबै कला, सँस्कृतिकोअध्ययन र संरक्षणको अभावका कारण कतिपय कला, सँस्कृति, परम्परा अमूर्त र लोपोन्मुख अवस्थामा रहेका छन्। यद्यपी यस गाउँपालिकाको नौमति बाजा जिल्लामै अत्यन्त प्रसिद्ध रहेको छ । यस बाहेक लोकभजन, दोहोरी, झ्याउरे, सोरठी, मारुनी, देउसी, भैलो यहाँका लोक सँस्कृतिका उदाहरणहरु हुन्।

२.७ विकास सम्भावनाहरू

गाउँपालिका क्षेत्रमा रहेका सम्भाव्यता र अवसर अन्तर्गत व्यवसायीक जडिबुटी उत्पादन, उन्नत जातका पशुपालन, पंक्षीपालन, व्यापार, व्यवसाय, नोकरी, पर्यटन, होमस्टे, आधुनिक कृषि व्यवसाय जस्ता थप आर्थिक विकासका सम्भाव्य क्षेत्रहरू रहेका छन्। वन, उर्वर कृषि जमिन, नदीनाला, समथर भौगोलिक अवस्था र जैविक विविधता जस्ता प्राकृतिक सम्पदाको यथेष्ट उपलब्धता देखिन्छ । शिक्षित मानविय श्रोतमा वृद्धि हुँदै गएको देखिन्छ । युवा जनसमुदायको बाहुल्यता देखिन्छ ।

२.८ मानव विकास सूचकांक

मानव विकास सूचकले तीनवटा कुरालाईआधार बनाएको छ । जसमा आम्दानी, शिक्षा र सापेक्षित आयु छन् । यी तिनवटै परिसूचकलाई समावेश गरी मानव विकासको सूचक निर्धारण गरिएको छ । हरेक देश/ठाउँका जनताको स्वास्थ्य स्थिति, शैक्षिक अवस्था, तथा जीवन स्तरको अवस्था मापन गरी स्तर निर्धारण गर्ने प्रयोजनको लागि संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (UNDP) ले विकास गरेको शिक्षा, स्वास्थ्य तथा प्रतिव्यक्ति आयका सूचकहरूको संयुक्त सूचकाङ्क नै मानव विकास सूचकाङ्क हो। UNDP नेपालले हालै नेपालका सबै जिल्लाहरूको मानव विकास सूचकाङ्कको मान समेटिएको नेपाल मानव विकास प्रतिवेदन, २०१४ सार्वजनिक गरेको छ । यो प्रतिवेदन अनुसार बागलुङ जिल्लाको मानव विकास सूचकाङ्क ०.४७८ (नेपालको ०.४९०) रहेको छ । अर्थात् बागलुङ जिल्लाको मानव विकास सूचकाङ्क नेपालको राष्ट्रिय औषत भन्दा कम देखिन्छ । मानव विकास सूचकाङ्कको आधारमा सबैभन्दा माथिल्लो स्थान ओगट्न सफल काठमाण्डौं जिल्लाको मानव विकास सूचकाङ्क ०.६३२ रहेको छ भने दोस्रो स्थानमा ललितपुर मानव विकास सूचक ०.६०१ रहेको छ । पुच्छारमा रहेको बाजुरा जिल्लाको मानव विकास सूचकाङ्क ०.३६४ रहेको छ । मानव विकास सूचकाङ्कका अवयव सूचकहरू हेर्ने हो भने बागलुङ जिल्लाको हरेक व्यक्ति बाँच्ने अपेक्षित औषत आयु (Life expectancy) ६८.८३ वर्ष र यसको सूचक ०.७३०, प्रौढ साक्षरता दर (Adult literacy) ६५.५४ प्रतिशत र यसको सूचक ०.६५५, शिक्षा आर्जनमा खर्चेको औषत समय (Mean years of schooling) ३.९१ वर्ष र यसको सूचक ०.२६१ तथा कुल राष्ट्रिय प्रतिव्यक्ति आय (per capita income) ८६८ अमेरिकी डलर र यसको सूचक ०.३६१ रहेको देखिन्छ । यसको विवरण तलको तालिकामा देखाइएको छ ।

  • गृह पृष्ठ
  • चिनारी